वेबटिभी खबर
सुर्खेत । निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेकी छिन् ।
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेकी हुन् ।
राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा.तुलाधरले आगामी मंसिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताइन् ।
डा.तुलाधारले भनिन्, ‘पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौं ।’
सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको उनको भनाइ थियो ।
‘सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो’, उनले भनिन्, ‘मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।’
आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताइन् । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij