वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए ।
राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘संविधानसभाबाट जारी संविधान, गणतन्त्र र संघीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौँ । आगामी मंसिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ ।’
गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष डा.भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताए ।
कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
चुनौतीपूर्ण भौगोलिक बनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो ।
‘बेनिघाट–आरुघाट–लार्के सडकको निर्माण सुरु भएको छ, यसलाई जतिसक्दो छिटो सम्पन्न गरिनुपर्छ, बुढीगण्डकी, दरौँदी, चेपे र मर्स्याङ्दी नदीको उत्तर–दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरे मात्रै पनि गोरखामा आधारभूत पूर्वाधार तयार हुन्छ’,पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने, ‘पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी संकलन गरेर प्रशोधन केन्द्र बनाउन पनि सकिन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij