वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दार्चुला पुगेर नेपालले आफ्नो एक इन्च जमिन कसैलाई नछाड्ने बताएका थिए । ओलीले सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन पनि आग्रह गरेका थिए । उनले भारतले मिचेको भूमि नेकपा एमालेले फिर्ता ल्याउनेसमेत बोल्न भ्याए ।
अध्यक्ष ओलीको उक्त भनाइलाईलक्षित गर्दै डा.भट्टराईले शुक्रबार सीमा समस्या सबै नागरिक र दलको निर्विवाद मुद्दा हुनुपर्ने बताए । डा.भट्टराईले भने,‘देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ ।’
अध्यक्ष डा.भट्टराईले चुनावको मुखमा कोही कसैले सीमाको मुद्दा उचाल्छ भने दालमा कालो छ भन्ने बुझ्नुपर्ने बताए । उनले नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको इतिहास बिर्सन नहुने पनि बताए ।
उनले भने,‘यदि कसैले चुनावी स्वार्थकालागि त्यसलाई उचाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ ! नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij