Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

राप्रपा अध्यक्ष लिङदेन भन्छन् - देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो

राप्रपा अध्यक्ष लिङदेन भन्छन् - देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो

  • 304
    SHARES
  • राप्रपा अध्यक्ष लिङदेन भन्छन् - देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो

    गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन्  । शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार बढेको बताए ।

    अध्यक्ष लिङदेनले विभिन्न पार्टीहरु एकअर्कालाई देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलमा रहने गरेको बताए । राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको लिङदेनको भनाइ छ ।

    उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभइ विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको समेत बताए । 

    उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुलाई भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

    अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij