Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

शीतभण्डारको निर्माण कार्य अढाई वर्षदेखि अलपत्र

शीतभण्डारको निर्माण कार्य अढाई वर्षदेखि अलपत्र

  • 436
    SHARES
  • शीतभण्डारको निर्माण कार्य अढाई वर्षदेखि अलपत्र

    सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ ।

    जिल्ला सहकारी संघ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त शीतभण्डारको विगत अढाई वर्षदेखि निर्माण कार्य पूर्णरुपले ठप्प रहेको हाे । नगरपालिकाले वडा नं १५ देउरी भरुवामा शीतभण्डार निर्माणका लागि एक बिघा जग्गा दिए पनि ठेकेदारको लापरवाहीले गर्दा समयमा निर्माण हुन सकिएको छैन् ।

    उक्त शीत भण्डारको क्षमता तीन हजार मेट्रिकटन रहेको छ । जिल्ला सहकारी संघले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवम् यहाँ उत्पादित कृषिउपजको भण्डार र व्यवस्थापनमा सहयोग पुर्‍याउने उदेश्यले कार्य अगाडि बढाइएको थियो ।

    २०७५ फागुनमा शिलान्यास गरी निर्माण थालिएको शीतभण्डारको काम ३० प्रतिशत मात्र भएको छ । शीतभण्डार निर्माणको कामको शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको छ ।

    संघका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौँ किसानले लाभ लिनसक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल गर्नुपर्ने बताए । संघीय सरकारले बजेट निकासा नगरेका कारण काम रोकिएको उनले जानकारी दिए ।

    उनले भने, ‘संघीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन्, संघीय सरकारको ६०, संघ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने गरी शीतभण्डारको निर्माण थालिएको थियो ।’

    संघीय सरकारले समयमा शीतभण्डारका लागि बजेट नदिएका कारण निर्माण व्यवसायले समेत भुक्तानी नपाएको भन्दै काम रोकिएको जनाएको छ । तराईको नवलपरासी र सप्तरीको देउरी भरुवामा एकै समयमा निर्माण थालिएको शीतभण्डार नवलपरासीमा निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

    यहाँ सरकारले समयमा बजेट नदिएका कारण निर्माणमा अवरोध भएको सहकारी संघका निर्देशक गुप्ताको भनाइ छ । अहिले शीतभण्डारका लागि जग्गामा माटो भराई, वण्डीबाल र फलामको पिलर ठड्याउने कामबाहेक अरु काम अगाडि बढ्न नसकिएको स्थानीयवासीले बताएका छन् ।

    स्थानीय रामकुमार यादवले किसानको आशाका रूपमा रहेको शीतभण्डार समयमा निर्माण हुन नसकिएका कारण आफूहरू निराश भएको बताए । किसानको हितमा निर्माण भइरहेको यो शीतभण्डार राजनीतिक कारण पछाडि परेको भन्दै यहाँ र आसपासमा उब्जाएका तरकारी कतै राख्ने ठाउँ नभएको उनले गुनासो गरे ।

    जिल्लामा एक मात्र निर्माण थालिएको शीतभण्डार बजेट अभाव भएको भन्दै निर्माण ठप्प पारेपछि किसानको आशा निरासामा परिणत भएको अर्का सोही ठाउँका किसान हरिकुमार मण्डलले बताए ।

    २०७५ मंसिर १५ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन मधेस प्रदेशका कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले यहाँका शीतभण्डारको शिलान्यास गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij