Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नवलपरासीमा डायलासिस सेवा सुरु

नवलपरासीमा डायलासिस सेवा सुरु

  • 340
    SHARES
  • नवलपरासीमा डायलासिस सेवा सुरु

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुस्थित जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ ।

    जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

    मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरूङले सेवाको उद्घाटन गरेकी हुन् । जिल्ला अस्पतालबाट अब मिर्गौला रोगीहरूले निःशुल्क रुपमा सो सेवा प्राप्त गर्नेछन् ।

    जिल्ला अस्पतालमा सो सेवा प्रदान गर्न चार वटा उपकरण जडान गरिएको छ । एक दिनमा अस्पतालमा १२ जनासम्मलाई यो सेवा प्रदान गर्न सकिने उनले बताइन् । हाल तीनवटा मात्रै उपकरण सञ्चालन गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

    अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीनजना सम्मलाई सेवा प्रदान गरिने उनले बताए ।

    सूचना अधिकारी सुवेदीले भने, ‘अहिले एक सिफ्ट मात्रै चलाएका छौँ । यसैले तीन जनालाई डायलासिस सेवा प्रदान गर्न सक्छौँ । आवश्यकता अनुसार सिफ्ट बढाउँदै जाँदा थप सेवा प्रदान गर्न सकिन्छ ।’

    एउटा उपकरणलाई भने जगेडामा राखेर तीन वटाबाट सेवा दिइने उनले बताए । यसअघि उपकरण आए पनि लामो समयसम्म सेवा सुरु हुनसकेको थिएन ।

    बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर पनि सेवा सुरु हुनसकेको थिएन ।

    अहिले बीमा बोर्डबाट अनुगमन नभए पनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरी सेवा सुरु गरिएको हो ।

    उनले भने, ‘सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गर्न हाल सामाजिक सेवा युनिटबाट खर्च बेहोर्ने गरी काम सुरु गरेका छौंँ । बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गर्ने काम बाँकी छ ।’

    असार महिनाको अन्तिमतिर आवश्यक सबै तयारी पूरा गरी जिल्ला अस्पतालबाट सेवा दिने तयारी गरिएको थियो । तर निःशुल्कमा सूचीकृत नगरी सेवा दिँदा शःशुल्क गर्नुपर्ने भएकाले सेवा सुरु गर्न समस्या परेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij