Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

चेपाङ समुदायमा रोकिएन बालविवाह 

चेपाङ समुदायमा रोकिएन बालविवाह 

  • 386
    SHARES
  • चेपाङ समुदायमा रोकिएन बालविवाह 

    चितवन । चितवनको इच्छाकामना गाँउपालिका-५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गरिन् । पन्ध्र वर्षको उमेरमा विवाह गरेकी उनको एक सन्तान जन्मिसकेको छ ।

    पिपला अहिले १९ वर्षको पुगिन् । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उनको दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि उनका श्रीमान् रोजगारीका लागि कुवेत गएका छन् ।

    ‘सानोमा बिहे गर्नु हुँदैन भन्ने थाहा त थियो तर गरियो, अहिले आएर पछुतो लाग्छ’, चेपाङले भनिन् । उनीसँगै जौगैराकै सुनिता, गीता र लालमाया चेपाङको पनि १४/१५ वर्षकाे उमेरमा विवाह भएका छन् ।

    उनीहरू सबैको बालबच्चा भइसक्यो । बालविवाह कानुनतः बर्जित छ तर चेपाङ समुदायमा चेतना अभाव, गरिबीलगायतका कारण बालविवाह हुँदै आएको छ ।

    सत्र वर्षकी सुनिता चेपाङको पहिलो सन्तान जन्मिसकेकी छिन् उनी पुनःगर्भवती छिन् । उनले कक्षा ५ पढ्दै गर्दा बिहे गरेपछि विद्यालय जान छोडिन् । चौध वर्षमा नै बिहे गरेकी उनलाई ख्यालख्यालमै बिहे गरेको जस्तो लाग्छ अचेल ।

    ‘पल्लो गाउँमा लागेको मेला हेर्न जाँदा मन परेर भागियो उनले भनिन्, ‘पहिलो भेटमा नै बिहे गरेको हुँ ।’ जौगैराकै माया चेपाङले ४० वर्षको उमेरमा आठ सन्तानलाई जन्म दिइन् । जन्मेका मध्ये छ सन्तान मात्र उनको साथमा छन् भने दुई सन्तानको जन्मेको चार/पाँच महिनामै मृत्यु भयो ।

    १४ वर्षको उमेरमा बिहे गरेकी उनको ठूलो छोरा २० भइसक्यो भने सानो साढे चार वर्षकी छोरी । उनी अब सन्तान नजन्माउने सोचमा छिन् । तर श्रीमानले कर गरेका कारण धेरै सन्तान जन्माएको उनले बताइन् ।

    ‘अहिले आएर सानो उमेरमा बिहे गर्ने र धेरै सन्तान जन्माउने ठीक होइन भन्ने लाग्छ’, उनले भनिन्, ‘दुःख पाइँदोरहेछ ।’ उनले गाउँमा आउने स्वास्थ्य स्वयंसेविकाले भनेपछि धेरै कुरा आफूहरूले थाहा पाएको जानकारी दिइन् ।

    सानो उमेरमा बिहे र धेरै बच्चा जन्माएका कारण आफ्नो स्वास्थ्यसमेत कमजोर भएको उनको भनाइ छ । पामडाँडा स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रबहादुर गुरुङ कम उमेरका चेपाङ किशोरी गर्भवती जाँचका लागि आउने गरेको बताउँछन् ।

    तीमध्ये अधिकांश चेपाङ र जनजाति समुदायका छन् । विवाह गर्न कम्तीमा २० वर्ष पुग्नुपर्छ । कतिपय चेपाङ किशोरी पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने बाध्यता छ।

    ‘गाउँभरि आफन्त, छरछिमेक सबैको सानैमा बिहे भएको देखेका हुन्छन् अनि ख्यालख्यालमै बिहे गरिहाल्छन्’, उनले भने, ‘कोही चाहिँ साच्चै बाध्यतामा परेर पनि गर्छन् ।’

    इच्छाकामना गाउँपालिका-५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङ विद्यालयस्तरमा जति नै प्रयास गर्दा पनि बालविवाह कम गर्न नसकिएको बताए ।

    उनले भने, ‘मैले शिक्षण पेसा गर्न थालेको २५ वर्ष भयो, अहिले पनि यो समुदायमा बालविवाह उस्तै छ ।’ ५/६ कक्षामा पढ्दापढ्दै विद्यार्थीले बिहे गर्ने गरेको उनको भनाइ छ ।चेपाङ समुदायका बालबालिका भोजभतेरमा जाने, चिनजान हुने र त्यहीबाटै भाग्ने प्रचलन रहेको उनले बताए ।

    बालविवाहसम्बन्धी चेतना अभिभावकमा पनि नहुँदा समस्या भएको छ । उनले अझै पनि चेपाङ समुदायको बस्तीमै चेतनामूलक र शिक्षामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् ।

    इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटा बालविवाहका कारण यो समुदायका बालबालिका गम्भीर प्रकृतिको समस्याको सिकार बन्ने गरेको बताए ।

    ‘सानो उमेरका महिलाको शारीरिक विकास तथा अन्य कुरामा परिपक्वाता आएको हुँदैन । कम उमेरमा विवाह गर्दा अपरिपक्वाताले समस्या निम्त्याउँछ’, उनले भने ।

    इच्छाकामना-६ का वडाध्यक्ष लक्ष्मण प्रजा सही उमेरमा सही शिक्षा लिन नसक्दा चेपाङ समुदायमा बालविवाह कम हुन नसकेको बताए ।

    ‘चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी पनि हो’, उनले भने, ‘घरको परिस्थितिका कारण पेटभरी खान पाइन्छ भनेर पनि विवाह गरेका पाइएको छ ।’

  • सम्बन्धित विषय:

  • # बालविवाह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij