Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जडीबुटी आम्दानीको मुख्य स्रोत

जडीबुटी आम्दानीको मुख्य स्रोत

  • 358
    SHARES
  • जडीबुटी आम्दानीको मुख्य स्रोत

    कञ्चनपुर । कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन् ।

    झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता छ । पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनले जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन् ।

    ‘हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा बेच्थे’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमा जस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु ।’

    भारतमा हुँदा उनले दैनिक दुई हजार भारतीय रुपैयाँ जतिको कमाइ गर्थे । भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उनको कमाइ घटेको छ । दैनिक उनले हाल रु पाँच सयदेखि रु एक हजारसम्म मात्रै कमाइ गर्दै आएका छन् ।

    ‘व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन’, उनी भन्छन्, ‘व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन ।’

    आज कमाइ भएन भनेर मन मार्नु हुँदैन, ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सके, मन जित्न सके व्यापार नहुने कुरै छैन, त्यसका लागि धैर्य गर्नुपर्ने उनी बताउँछन् ।

    जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर रोकायाले बेच्दै आएका छन् । जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उनी बताउँछन् ।

    राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापारमा संलग्न छन् । पहिला मनविरेले भारतमा काम गर्थे । भारतमा कोरोनाको सङ्क्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के । त्यसपछि भारततर्फ जान सकेका छैनन् । उनले रोकायाजस्तै गनानो, कटुको, चिराइतो, मालिस तेल, सिलाजित, हिमाली घोडामाच्यो, जम्बु, यार्सागुम्बा बेच्दै आएका छन् । ‘केही जडीबुटी हिमाली जिल्लामा आफैँ गएर खोजेर ल्याउँछु’, उनले भने, ‘केही जडीबुटी घरेलु उद्योगबाट किनेर बेच्छु, यसबाटै परिवारको खर्च चलेको छ ।’

    भारतमा जडीबुटी यसैगरी बेच्दा रु तीस हजार जति महिनाको कमाइ हुने गरेको थियो । यहाँ जडीबुटीको व्यापारबाट मासिकरुपमा रु २५ हजार जति कमाइ हुने गरेको छ । दुई छोरा, दुई बुहारी, तीन नातिनातिना, तीन छोरी र बूढाबूढीको लत्ताकपडा, खाना खर्च यसै व्यापारबाट चलेको उनी निर्धक्कसँग बताउँछन् ।

    हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना सुरु हुनै लाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कने गरेका छन् । गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्नसमेत थालेका छन् । पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौँदेखि चल्दै आएको छ । बूढापाकाले परम्परागतरुपमा गर्दै आएको व्यापारको कार्यलाई थाति राखे पनि युवाले भने पिठ्युमा भारी बोकेर गाउँ सहर चहार्दै गर्दै आएको व्यापार गर्न नरुचाउने गरेका छन् । युवा अरु व्यापार र सरकारी नोकरीमा आकर्षित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # जडीबुटी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij