वेबटिभी खबर
रसुवा । रसुवाको उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रु मानिसलाई जोखिम बढ्न थालेको छ । जंगली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो ।
मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जंगली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
जंगली भालुले धुञ्चेको इमरूङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द्रको गोदाममा राखिएको माछाको दानासमेत केही समय अगाडि भालुले नोक्सान गरेको थियो ।
पोखरीमा पालिएको माछालाई खुवाउन गोदाममा राखिएको दाना हराएपछि पत्ता लगाउन भोलिपल्ट सिसीटिभी हेर्दा जंगली भालुको टाउकाले झ्यालको सिसा फोडी खाएको भेटिएको मत्स्य केन्द्रका कर्मचारीले बताए ।
जंगली भालुको त्रास न्यूनीकरण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले अह्रोरात्र गस्ती गरि मानव तथा वन्यजन्तु दुवैलाई सुरक्षा प्रदान गरिरहेको निकुञ्जले जनाएको छ ।
बढी चिसो भएपछि प्रायजसो जनावर तातो स्थान खोज्दै डुल्ने भएका कारण बिहान बेलुका बासस्थानबाट एक्लै बाहिर ननिस्कन, घाँस दाउरामा जाँदा साथीको साथमा मात्र हिँड्न अनुरोध गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराइले बताए ।
भिमली, टिमुरे, बृद्विम, हाकुको लुम्वुडाडा, यार्सा, स्याफ्रुलगायतका दर्जनौँ स्थानमा विगतका समयमा भएको भालु आतंकको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले लेकबाट झरेको भालु फागुनको १५ गतेसम्म बेँसीका मानव बस्ती आसपास तथा पहराको ओढारलगायतका स्थानमा बस्ने र बेँसीमा तातो बढ्दै गएपछि आफ्नो क्षेत्रमा पुनः फर्कने गरेको अनुभव सुनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij