Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मल्लाजमा सडक स्तरोन्नतिका आयोजना सुरु

मल्लाजमा सडक स्तरोन्नतिका आयोजना सुरु

  • 328
    SHARES
  • मल्लाजमा सडक स्तरोन्नतिका आयोजना सुरु

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् ।

    जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारमार्फत् ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् ।

    जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई शहर उन्मुख बस्तीको रूपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताए ।

    ‘वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने, ‘भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक संघीय सरकारको सडक डिभिजन र फड्केढुंगाको दोवदोवेदेखि मल्लाजसम्म सडक शहरी विकास कार्यालयमार्फत् स्तरोन्नति सुरु भएको छ ।’

    वारीबेनी/मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले १ करोड र जलजला गाउँपालिकाले एक करोड बजेट विनियोजन गरेका थिए ।

    कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ ।

    संघीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत् मल्लाज/लेकफाँट सडक स्तरोन्नतिका लागि ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला-३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताए ।

    मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

    कूल ३३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको यो सडकमा अहिले पाँच वटा डोजर र करिब एक सय जना मजदूरले काम गरिरहेका छन् ।

    यसैगरी शहरी विकास कार्यालय बाग्लुङमार्फत् दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम थालेको छ ।

    यो सडकमा पाँच मिटर चौडाइका दरले कालोपत्र गरिनेछ । मल्लाजमै १२ करोडको लागतमा पाँच शय्या क्षमताको अस्पताल भवन पनि निर्माणको काम धमाधम भइरहेको छ ।

    सडक स्तरोन्नति तथा अस्पताल सञ्चालन भएपछि आवतजावत सहज र सुरिक्षत हुने, बसाइँसराइ रोकिने, आयआर्जन र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको स्थानीयवासी नरेन्द्र थापाको भनाइ छ ।

    मल्लाजमा एक घर एक धारासहितको खानेपानी र वृहत् सिँचाइ आयोजना यसअघिनै निर्माण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij