वेबटिभी खबर
विराटनगर । आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला-बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ ।
महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिंक पनि उपलब्ध गराइएको थियो ।
बीउ र जिंक वितरण गर्दै महानगरप्रमुख प्रमुख नागेश कोइरालाले बढ्दो शहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकोमा चिन्ता व्यक्त गरे ।
उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए । वडा नं-१९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने जानकारी दिए ।
महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीमा वितरणका लागि एक हजार एक सय ७६ केजी मकैको बीउ र आठ हजार केजी जिंक उपलब्ध गराएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij