वेबटिभी खबर
धनगढी । धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन् । नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ ।
उपमहानगरले प्लास्टिकका झोला बन्द गरेपछि कपडाका झोला छपाउन दिएको व्यवसायी चन्द्र जैशी बताउँछन् । प्लास्टिकको सट्टामा कपडाको झोला बनाएर ग्राहकलाई सामान दिने तयारी गरेको उनले बताए ।
प्लास्टिकको सट्टामा प्रयोग हुने कपडाको झोला पुनः प्रयोग गर्न मिन्ले भएका कारण एक पटक ग्राहकलाई झोला दिँदा सो झोला धेरै पटकसम्म प्रयोग गर्न मिल्ने उनी बताउँछन् । बजार क्षेत्रमा ठेलामा घुम्ती व्यवसाय गर्दै आएका व्यवसायी पनि प्लास्टिकको झोलाको सट्टामा कपडाको झोला प्रयोग गर्ने तयारी गरिरहेका छन् ।
उपमहानगरपालिकाले विकल्प नदिँदा प्लास्टिकका झोला पटक हटाउन समस्या भएको होटल व्यवसायी सुधिर भट्टले बताए ।
उनले भने, ‘प्लास्टिक बन्द गर्नु राम्रो हो । तर प्लास्टिकको झोलाको सट्टामा के प्रयोग गर्ने भन्ने कुरा पहिला नै भनेको भए राम्रो हुने थियो । एकैपटक प्लास्टिक बन्द गर्दा ग्राहकले अर्डर गरेको समाग्री दिन समस्या भइरहेको छ ।’
धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोलाको विकल्प व्यवसायी र उपभोक्ता आफैले खोज्नुपर्ने जनाएको छ । उपमहानगरको भदौ १ को कार्यपालिकाको बैठकले असोज १ गतेदेखि धनगढीमा प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु बन्द गर्ने निर्णय गरेको थियो ।
असोज १ गते भनिए पनि एक महिनासम्म सूचना जारी गरेको थियो । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिएपछि भने प्लास्टिकका झोला बिक्रीमा रोक लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij