Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

हलेसीको पर्यटन सूचना केन्द्र अलपत्र अवस्थामा

हलेसीको पर्यटन सूचना केन्द्र अलपत्र अवस्थामा

  • 369
    SHARES
  • हलेसीको पर्यटन सूचना केन्द्र अलपत्र अवस्थामा

    खोटाङ । खोटाङको त्रि-धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र्याउनका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र  अलपत्र बनेको छ ।

    दर्शन एवम् भ्रमणकाक्रममा हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलमा पुग्ने वातावरण निर्माणका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र बिचैमा अलपत्र परेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हलेसी महादेवस्थान विकास समितिको कार्यालयमा २९ चैत ०७५ मा स्थापना गरेको सूचना केन्द्र तत्कालिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा ९ लाख बजेट विनियोजन गरेर पर्यटन सूचना केन्द्र स्थापना गरेको थियो ।

    दिक्तेलबाट बसमा सहभागी लगेर ब्रोसर, टि-सर्ट बाँडेर तामझामका साथ स्थापना गरिएको सूचना केन्द्र कोभिड-१९ को महामारीपछि ठप्प बनेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।

    सूचना केन्द्रमा नगरपालिकाले राखेको डिजिटल डिस्प्ले मात्र रहेको र डिस्प्ले पनि हाल चालु अवस्थामा छैनन् । डिस्प्ले धुलोले पुरिइसकेको छ । सूचना केन्द्रको कार्यालयमा ताल्चा लागेको छ ।

    पर्यटन सूचना केन्द्रलाई पुनः सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले ठोस धारणा सार्वजनिक गरेका छैनन् ।

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारूपमा रहेको हलेसीमा आउने पर्यटक एवम् दर्शनार्थीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका रुपाकोट, मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, रुवालुङ झरना, बगरेभञ्ज्याङ, महुरेगढी आँखा पोखरी, साप्सुधाप, बुधेश्वर महादेव, सीतादेवी मन्दिर, सहदेवगढी पञ्चकन्य भगवती, दिक्तेल, पन्चेदोबाटो लगायतका धार्मिक तथा पर्यटकीयस्थलका विषयमा जानकारी दिँदै भ्रमणका लागि निमन्त्रणा गर्न सूचना केन्द्र स्थापना गरिएको थियो ।

    सूचना केन्द्रमा दुई जना कर्मचारी खटाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी, हलेसीदेखिको दुरी, पुग्ने बाटो, उपलव्ध सुविधा लगायतका विषयमा जानकारी दिने व्यवस्था मिलाइएको थियो ।

    यस बाहेक भिडियो सामग्रीका माध्यमबाट समेत धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिने व्यवस्था गरिएको जानकारी दिइएको थियो ।

    तर कतिपय पर्यटकले सोधीखोजी गरे पनि हलेसीबाट सूचना केन्द्रमार्फत कोही पनि पर्यटक दिक्तेल रुपाकोट मझुवागढी नभित्रिएको भन्दै आलोचना भइरहेको छ । प्रतिफल विहिन कार्यक्रममा नगरको खर्च भएको स्थानीय बताउँछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij