वेबटिभी खबर
सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो ।
सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको सो प्रतियोगिताको सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे । खेलकुद क्षेत्रको विकासका लागि सरकारको भर मात्र पर्न नहुने भन्दै उनले यसका लागि सबैको हातेमालो आवस्यक रहेको बताए ।
प्रतियोगितामा १५ वर्षमुनीको एकल पुरुषतर्फ १४, खुला महिलातर्फ आठ, खुला पुरुषतर्फ १७ तथा ३५ वर्षमाथीको उमेर समूह डबल्स पुरुषतर्फ १२ टोली सहभागी रहेको प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको सबै विधामा प्रथम र द्वितिय हुनेलाई क्रमशः १५ हजार र सात हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै तृतिय हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता यही पुस ४ गतेसम्म जारी रहने छ । प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, सिन्धुली, काठमाडौंलगायत जिल्लाका खेलाडीले सहभागिता जनाएका छन् ।
साहित्यकार, कृषि विज्ञ, चित्रकार तथा राजनितिज्ञ किरातीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij