Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गोदाममै थन्किए अल्लोका कपडा

गोदाममै थन्किए अल्लोका कपडा

  • 368
    SHARES
  • गोदाममै थन्किए अल्लोका कपडा

    म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् ।

    जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएका उद्यमी बजार अभावले समस्यामा परेका हुन् ।

    विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको बताए ।

    थापाले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौंलगायतका ठाउँमा बजारीकरण गर्दै आएका छन् ।

    पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ ।

    ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ’, उनले भने । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आएका थापाले नौ जनालाई प्रत्यक्षरूपमा रोजगार दिँदै आएका छन् ।

    यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङलगायतका जंगलमा खेर गइरहेको अल्लोलाई स्थानीयवासीबाट संकलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ ।

    गत वर्ष स्थानीयवासीबाट तीन हजार किलो अल्लोको पुवा संकलन गरेको उद्योगले यस वर्ष सात हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ । उद्योगमा कपडा बुन्नेसँगै जंगलमा अल्लोको पुवा संकलनबाट समेत स्थानीयवासीले अम्दानी गर्दै आएका छन् ।

    उद्योगले अल्लोको पुवालाई प्रतिकिलो एक सय २० मा खरिद गर्दै आएको उद्यमीथापाले जानकारी दिए । ‘हामी गाउँपािलकाभित्रका स्थानीयले संकलन गर्ने जति पनि अल्लोको पुवा खरिद गर्न सक्छौँ, उद्योगको क्षमताले उत्पादन बढ्दै गएकाले उत्पादिन सामग्रीको बजारीकरणमा समेत नयाँ ठाउँ र बजारको खोजी थालिएको छ’, उनले भने ।

    थापाले उद्योगमा अहिलेसम्म करिब २५ लाख लगानी गरिसकेका छन् । उद्योग स्थापनामा डिभिजन वन कार्यालयले मेसिन खरिदमा अनुदान सहुलियत दिएको दिएको थियो ।

    यस अल्लो कपडा उद्योगबाट उत्पादन भएका कपडामध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको आठ सय र कटन मिसाएको पाँच सय ५०, ऊन मिसाएको पाँच सयमा बिक्री हुने गरेको उद्योगका व्यवस्थापक प्रभात अधिकारीले जानकारी दिए ।

    ‘स्वास्थ्यको लागिसमेत लाभदायी हुने अल्लोको कपडाको प्रयोग नेपालमा धेरै हुन सकेको छैन्, अझै पनि नेपालमा उत्पादन भएको कपडाको बजार विदेश नै हो, विदेशी पर्यटकको आगमन प्रभावित भएकाले पनि नेपालमा पछिल्लो समय अल्लो कपडाको बजारीकरणमा समस्या भएको देखिएको छ’, अधिकारीले भने ।

    जंगलमा पुसदेखि वैशाखसम्म अल्लोको पुवा संकलन गर्ने गरिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij