वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।
नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।
नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी रहेको चर्चा चलेको छ ।
अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ । पार्टीको चुनाव चिन्ह कलम दाबी गरिएको राईले बताए ।
संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामाले अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए ।
यस्तै महासचिवमा दर्ता रहेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी ०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।
राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताए । वैशाख ७ गते दल दर्ताको निवेदन पेश गरिएकोमा प्रमाणपत्र पाउन बाँकी रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij