Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

वन व्यवस्थापनको मुख्य चुनौती डढेलो

वन व्यवस्थापनको मुख्य चुनौती डढेलो

  • 334
    SHARES
  • वन व्यवस्थापनको मुख्य चुनौती डढेलो

    मोरङ । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ ।

    तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ । मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पुर्‍याउने गरेको छ । डढेलोलाई वन विनासको मुख्य कारण मानिन्छ ।

    दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ । विराटनगर-३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्सेनि औसत एक सय ५० देखि चार सय हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

    वन व्यवस्थापन दिगो, छरितो र उत्कृष्ट भए पनि वन क्षेत्रमा लाग्ने डढेलोले बेलाबेलामा चिन्ता बढाउने गरेको छ । डढेलोले संकटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पुर्‍याउने गरेको सहायक वन अधिकृत एवम् सूचना अधिकारी रामलखन ठाकुरले बताए ।

    ‘कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ’, ठाकुरले भने ।

    उनले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको जानकारी दिए ।

    सञ्जालले वन क्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्मको कार्य गर्दैआएको ठाकुरको भनाइ छ । कार्यालयले डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा पतझर सोहरेर अग्नि रेखाको सरसफाई, वन क्षेत्रमा नियन्त्रित आगो लगाउने कार्य गर्दै आएको छ ।

    साथै वनमा आगलागी भइहाल्यो भने तत्कालै निभाउनका लागि वन क्षेत्र नजिक तीन वटा पानी ढुवानीका लागि ट्यांकर तयारी अवस्थामा राखिएको छ ।

    डिभिजन वन कार्यालयका वन अधिकृत अनिरुद्धकुमार साहले सीमित स्रोतसाधनका बाबजुत मोरङमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गरे ।

    उनले मोरङको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित चौबिसै घण्टा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij