वेबटिभी खबर
काठमाडौं । कूल चार सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हाे ।
कम्पनीले सूचनामार्फत् संखुवासभा जिल्लामा आयोजना स्थल रहेको आयोजनाको परामर्शदाताका रूपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ ।
आयोजना संखुवासभाको भोटखोला गाउँपालिका-२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रूपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित सो आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ ।
कम्पनीका अनुसार अरुण नदीमा जगदेखि एक सय ४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करिब ०.३ सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ ।
तालमा एक सय तीन लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । भोटखोला गाउँपालिका-२ को लिहम गाउँबाट करिब पाँच सय मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ ।
आयोजनाका लागि आठ मिटर व्यास भएको करिब पाँच हजार नौ सय १८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । कम्पनीका अनुसार पानीको डिजाइन बहाव करिब एक सय ४३ घनमिटर प्रतिसेकेण्ड र करिब तीन सय ७९.५२ मिटरको कूल हेड प्रयोग गरिनेछ ।
त्यसबाट वार्षिक करिब दुई हजार छ सय ५५.१२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । विद्युत्गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ ।
विद्युत् उत्पादन पश्चात् करिब सात सय ५१ दशमलव शून्य पाँच मिटर लामो रेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६ दशमलव आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ ।
आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ । आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी सात दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ ।
अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कूल नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ ।
अरुण चार जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । एक हजार एक सय मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडीसीएल) ले आन्तरिक रूपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ ।
यस आधारमा ऊर्जा नदीका रूपमा परिचित अरुण नदीमा किमाथाङका अरुणको काम समेत शुरु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij