वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।
उनले भनिन्, ‘परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ । यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालयसमेत उद्घाटन गरिन् । साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गरिन् ।
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताए । गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उनले जनाए ।
उनले भने, ‘प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन् । यद्यपी दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।’ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताए ।
उनले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उनले जनाए । नेकपा एकीकृत समाजवादी नेता जगन्नाथ खतिवडाले राजनीतिक संकट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।
साथै लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए ।
साथै महासंघका पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij