वेबटिभी खबर
बाग्लुङ । साँघुरो बागलुङ बजार त्यसमाथि अव्यवस्थित रूपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बाग्लुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ । बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बाग्लुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ ।
बाग्लुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्ड विपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन् । मापदण्ड विपरीत सिट क्षमताभन्दा बढी चढाउँदा बालबालिकाले सास्तीसमेत भोगेका हुन् ।
‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको पाँच वर्ष बितिसक्दा पनि बाग्लुङमा कार्यान्वयन हुनसकेको छैन् । विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन् ।
कार्यान्वयन गराउने प्रहरी र प्रशासन मुकदर्शक छन् । जिल्लाका ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन् । कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन ।
त्यसले ट्राफिक व्यवस्थालाई भद्रगोल बनाइ दिएको छ । स्थानीय दयाराम पौडेलले विद्यालयले बस सञ्चालन गर्दा निश्चित् ठाउँ तोक्ने र सोही स्थानबाट विद्यार्थी चढाउने तथा झार्ने गरे बजारमा दुर्घटना जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।
उनले साँघुरो बजारमा दजनौँ स्कुल बस जथाभावि रुपमा चलाउँदा व्यवसायी पनि समस्यामा पर्ने गरेको जानकारी दिए । स्थानीय प्रवेश पौडेल सम्बन्धित निकायले जथाभावी रूपमा चल्ने स्कूल बसलाई व्यवस्थापन गर्न नसके ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउने बताउँछन् ।
उनले साँघुरो सडकमा पनि स्कुल बस तीव्र गतिमा चल्ने गरेकाले यसलाई स्थानीय सरकारले नियमन गर्नुपर्ने जानकारी दिए । हरेक सवारी साधनमा आपतकालीन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी साधन चलाउनुपर्ने, प्राथमिक उपचार बक्स र अग्निनियन्त्रण उपकरण राखिनुपर्ने नियम छ ।
निर्देशिका अनुसार हरेक गाडीले फोहर फाल्ने बाल्टीभित्रै राख्नुपर्ने, सवारी जाँचपास प्रमाणपत्रसमेत साथैमा राखिनुपर्ने उल्लेख भए पनि यहाँ त्यस्तो पाइँदैन ।
अमर आदर्श आवासीय माविका सहप्राचार्य कमल पन्तले साँघुरो सडकमा स्कुल बस चलाउन विद्यालयलाई पनि समस्या भएको बताए । ट्राफिक प्रहरीले एकतर्फ तथा ठूला सवारी साधन निषेध भनेको सडकमा पनि स्कुल बस चल्छन् ।
बाग्लुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले स्कुल बस चालक र विद्यालयका प्रधानाध्यापकसँग विद्यार्थी बसमा चढाउने र ओराल्ने विषयमा छलफल गरेको भन्दै अब निश्चित् स्थानमा बस बिसौनी बनाउने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij