वेबटिभी खबर
जाजरकोट । सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन् ।
भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएपनि अझै काम सुरु नसकेको हो ।
नेपाल-चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्ड अन्तर्गतपर्ने यस खण्डको काम यथाशक्य गराउन कार्यालयले बारम्बार ताकेता गरेपनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इञ्जिनियर दिलीप यादवले गुनासो गरे ।
‘दुई पटक ठेक्का किन नतोड्ने व्यहोरा सहितको ताकेता पत्र काटिसकेका छौँ, एउटा पत्र गत मंगलबार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौ’, इञ्जिनियर यादवले भने ।
‘सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर ५५ लाख पेश्की रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो’, उनले भने । आयोजनामा कूल लागत १३ करोड ४१ लाख खर्च हुनेछ ।
सडकखण्ड दुनै-ल्यासीक्याप सडकखण्ड काइके,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल-चीन सिमामा पर्ने मोरिम्ला नाका पुग्नेछ । सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले काम छिटो सुरु गर्न भन्दै गत मंसिर २८ मा पत्र लेखेको छ ।
पत्रमा सम्झौता भएको महिनौँ वितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको थियो ।
सडकखण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अंकत रानाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij