Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बढ्दो चिसोमा किसानलाई कामको चटारो

बढ्दो चिसोमा किसानलाई कामको चटारो

  • 436
    SHARES
  • बढ्दो चिसोमा किसानलाई कामको चटारो

    महोत्तरी । मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ ।

    यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पुर्‍याउनु पर्ने र उखु क्रसिङको समय भएकाले किसानलाई कामको भटारो परेको हो ।

    अर्को सिजनका लागि तरकारी खेती गर्न खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारो परेको छ ।

    ‘खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ’, भङ्गाहा-४ रामनगरका किसान अरुण गिरीले भने, ‘गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म फूल फक्रेर कक्रक्क पर्छ, तर चिसोले अलिक गाह्रो बनाएको छ ।’

    उनी यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्रयाक्टरमा लोड गर्ने काममा पनि व्यस्त छन् । खेतीपातीका यी कामसँगै अहिले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ ।

    तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन् । यस्तै तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन् ।

    पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लड्डु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सक्खर पकाउन थालेका हुन् ।

    आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका छन् । मिथिलामा माघ संक्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ ।

    ‘पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, अहिले सख्खरका लागि उखु पेल्ने, मुरी/चिउराका लागि धान उसिन्ने र तिल झाँट्ने र बजार लाने काम छन्, लगत्तै अब १० दिनपछि अलुवा (सखरखण्ड, सुठुनी), पिँडालु र तरुल खन्ने काम सुरु हुन्छ’, रामनगर बस्तीकै ४५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, ‘अहिले बजार पुर्‍याउन नसकिएको तिलको भाउ संका्रन्तिपछि घट्छ।’

    मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालु जस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने स्थापित परम्पराले माघे संक्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् ।

    मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट संक्रान्तिअघि बजार पुर्‍याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । कन्दमूल खन्ने र बजार पुर्‍याउने काम भने पुस चौथो साता लागेपछि थालिने दनुवारले बताए ।

    पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने/खुवाइने चलन छ । त्यसैगरी गोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुले राम्रो भाउ पाउँछन् ।

    पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्‍याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले फुर्सद पनि नभएको बलवा नगरपालिका-१० धमौराका किसान वासुदेव पासवानले जानकारी दिए ।

    पर्वकै तुक पारेर उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लीन देखिएका छन् । ‘अहिले जाँगर नचलाए आम्दानी हुँदैन’, बर्दिबास-६ प्रेमनगरका किसान रामकृपाल महतोले भने, ‘उखुबाट हुने आम्दानीले वर्षभरिलाई पुग्ने अन्न जोहो गर्नुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij