Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शीतलहरले बाँकेको जनजीवन कष्टकर

शीतलहरले बाँकेको जनजीवन कष्टकर

  • 261
    SHARES
  • शीतलहरले बाँकेको जनजीवन कष्टकर

    बाँके । दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर भएको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।

    चिसोले दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।

    नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले जानकारी दिए ।

    शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ । शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छन् ।

    चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल-टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले टोल-टोलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गर्ने तयारी गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए।

    केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामीको संख्या बढ्दै गएको छ । मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, ‘कोल्ड डायरिया’ रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिक आउने क्रम बढेको उक्त अस्पतालका निर्देशक डा.एम किदवाइले बताए ।

    उनले चिसो बढेसँगै बिरामी पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # शीतलहर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij