Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अफ्रिकन स्वाइन फिवरका कारण दुई हजार बढी बंगुर मरे

अफ्रिकन स्वाइन फिवरका कारण दुई हजार बढी बंगुर मरे

  • 308
    SHARES
  • अफ्रिकन स्वाइन फिवरका कारण दुई हजार बढी बंगुर मरे

    चितवन । चितवन जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बंगुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् ।

    यसबाट पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बंगुर मरेका हुन । रोगले एक सय ८७ वटा बंगुर अझै बिरामी छन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा.प्रभात न्यौपानेका अनुसार एक हजार आठ सय ११ वयस्क र नौ सय ३१ पाठापाठी बंगुर छन् ।

    यस्तै बिरामी परेकामध्ये एक सय २८ वयस्क र ५९ पाठापाठी रहेको कार्यालयले जनाएको छ । अफ्रिकन स्वाइन फिवर घरपालुवा सुंगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक सरुवा रोग हो ।

    यो रोग नेपालमा पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको हो । रोग संक्रमित सुंगुर बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, संक्रमण खोरमा काम गर्ने कामदार र संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिए ।

    यो रोग लागेका बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग संक्रमित सुंगुर बंगुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ ।

    यो रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, फार्ममा जैविक सुरक्षाविधि अवलम्बन गर्ने जस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ ।

    बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैँ फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बंगुरको खोर फार्म र फार्म वरिपरी नियमित सरसफाई गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसंक्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्ने जस्ता कार्य गर्दा क्षति कम हुने न्यौपानेको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij