Logo

२०७९, माघ २४ गते मंगलवार

२०७९, माघ २४ गते मंगलवार

images

सामन्ती जाडो 

सामन्ती जाडो 

  • 192
    SHARES
  • सामन्ती जाडो 

    काठमाडाैं । सामन्ती शब्दलाई प्रिय मानिदैन । अलि हुने खानेलाई सामन्ती भनेर गाली पनि गरिन्छ । शोषण गरेर धनी बनेकालाई सामान्यतया राजनीतिक भाषामा गाली गर्दा सामन्ती भन्ने चलन छ । सामन्तीले गरिबलाई शोषण गर्छन भन्ने छ ।

    images

    यो जाडो मौसमले पनि गरिबलाई शोषण गरेर सामन्ती पारा देखाइरहेको छ । सम्पन्नले पोषिलो खानेकुरा खाइपिइ गरेर जाडोमा ज्यान बनाउँदा गरिबको भने ज्यान थप सुक्दै जान्छ । गरिबलाई शोषण गरेर सभ्रान्तलाई सेवा गर्ने जाडो मौसम पनि ‘सामन्ती’ सरह भएको छ ।

    सामान्यतया कुन मौसम मन पर्छ ? भन्ने प्रश्नमा जाडो मनपर्छ भन्नेहरु आर्थिक रुपमा सम्पन्न वर्गकै हुने गर्छन् । जाडो मौसम रुचाउने विपन्न सायदै भेटिएलान । जाडो मौसम मन पराउनु पनि सभ्रान्त हुनुको परिचयजस्तो भइसकेको छ । हुने खानेलाई जाडो एउटा हरेक दिन मिठा खानेकुरा खाएर पिकनिक मनाउने अवसर हो । त्यसैले पनि यो जाडो सामन्ती पक्षधरजस्तो बनेको छ ।

    हुने खानेका लागि जाडो एउटा अवसर हो । जाडो याममा जठाराग्नी (पाचन प्रणाली) सक्रिय हुने भएकाले खाएको सहजै पच्ने, गरिष्ठ भोजन खान मिल्ने, मिष्ठान्न भोजन दैनिक गर्न मिल्ने सुविधा यो मौसममा छ । 

    आयुर्वेदसम्वन्धी विभिन्न जानकारहरुले जाडोका बेला जठाराग्नी सक्रिय हुने र पर्याप्त पोषिलो खानेकुरा खाएर जाडोमा स्वस्थ रहन सुझाइएको पाइन्छ । पुस र माघमा चिल्लो चाप्लो पनि खाँदा जठाराग्नीले पचाउने उल्लेख छ । माघे संक्रान्तिमा परम्परागत खाने परिकारमा पनि तीलको लड्डु, घिउजस्ता गरिष्ठ आहार हुने गर्छ । यसबाट पनि जाडोमा पोषिलो खानु पर्छ भन्ने परम्परा रहेको स्पष्ट हुन्छ । 

    यो सुझाव धन हुनेका लागि त ठिकै हो । नेपालजस्तो विपन्न बहुल देशमा भने यो जाडो अवसरभन्दा पनि कहरको रुपमा आएको हुन्छ । विपन्न वस्तीमा झाडा, पखाला नलाग्ने बाहेक जाडोबाट कुनै लाभ देखिँदैन् । अभाव र भोकग्रस्त बस्तीमा जाडो लगभग कहरकै रुपमा आएको हुन्छ । 

    सेतो टि–सर्ट मात्र लगाएर भारत जोडो यात्रामा निस्केका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले पनि जाडोले विपन्नलाई दुःख दिइरहेको भर्खरैको आफ्नो मन्तव्यमा बताएका छन् । उनले मध्यप्रदेशमा तीन जना गरिब बालिकालाई फाटेको लुगा लगाएर जाडोमा काम्दै गरेको भेटेपछि आफूले पनि टि–सर्ट मात्र लगाउने निर्णयमा पुगेका बताएका छन् । ‘ती तीन जना बालिकालाई म के सन्देश दिन चाहन्छु भने उनीहरुलाई जस्तै राहुल गान्धीलाई पनि जाडो हुन्छ,’ उनले जाडोमा पनि टि–सर्ट लगाएर यात्रा जारी राख्नुको कारण खुलासा गर्दै भनेका थिए । 

    एकसरो न्यानो ओढ्ने र बाक्लो लुगा नभएका विपन्नलाई जाडोबाट बच्न थप पोषिलो खाने कुराको जोगाड गर्नु झन मुस्किल हुन्छ । बाहिरी आङ ढाक्न समस्या भइरहेका बेला पोषक खानामा खर्च गर्न सक्ने कुरै भएन । 

    मधेसमा केही दिनयता घाम नलागेर विपन्न वर्गको जनजीवन कष्टकर बनेको समाचार आइरहेका छन् । फेरि सामाजिक सञ्जालमा हुने खानेले ‘जाडो छल्न’ भन्दै बनाइएका मिठा परिकारका फोटो पनि उत्तिकै हाल्ने गरेको पाइन्छ ।

    मांसाहारी पकवानदेखि शाकाहरी परिकारका फोटो हालेर समाजिक सञ्जाल रंग्याउनेको कमी पनि छैन । साथै एकसरो न्यानो लुगा र रातको चिसो शीतबाट बच्न बाक्लो ओढ्ने नभएर आगो तापेर गुजारा चलाइरहेका विपन्नका फोटा र समाचार पनि आइरहेका छन् । 

    आवश्यक न्यानो लुगा, मन लागेको खानसक्ने आर्थिक हैसियत, जाडोबाट बच्न बाक्ला ओढ्ने भएकालाई यो जाडो खासै शत्रु होइन् । अझ वातानकुलित घर र गाडिसमेत राख्न सक्ने हैसियत भएकालाई जाडो मौसम खानपानका लागि वर्षमा एक पटक (लगभग तीन महिना) आउने एउटा सुखद अवसर नै हो । 

    विपन्नका लागि भने यो जाडोका हरेक दिन संंकट बनेर आउने गर्छ । एक–एक रात काट्न हम्मे पर्छ । केही थान झिक्रा र पराल बालेर रात कटाउनु पर्ने अवस्था हुन्छ । पोषिलो खाना त परको कुरो पेट भर्न समस्या पर्छ ।

    त्यसैले जाडो धनाढ्यको पक्षपाति मौसम हो । हुन त धनाढ्यले गर्मीलाई पनि वातानुकुलीत प्रणाली जडान गरेर आफ्नो पक्षमा पार्छन । तर जाडोमा जस्तो गर्मीमा पाचन प्रणाली सक्रिय हुँदैन । वातानुकूलीत प्रणालीले चिसो बनाएको कोठामा बसेर खाए पनि मसालेदार भोजन पच्न गर्मीमा गाह्रै हुन्छ । 

    गर्मीमा रुखको छहारीमा सुते पनि भयो, पानीमा सातु घोलेर खाए पनि भयो । ढलान गरिएका र टिनका छाना भएको घरभन्दा खरको छाना भएको घरमा प्राकृतिक ठन्डा हुन्छ । सकेसम्म सादा भोजन गर्नु पर्ने भएकाले गर्मी अलि समाजवादी मौसमजस्तो छ । 

    गरिब बस्तीमा जाडोलाई सत्रुको रुपमा हेर्ने गरिन्छ भने धनीले मित्रको रुपमा हेर्न सक्छन् । एउटै मौसमलाई हेर्ने दुई दृष्टिकोण किन हुन्छ भने यसमा वर्गीय अवस्थाले काम गरेको हुन्छ ।

    जाडोजस्तो प्रिय महिनालाई किन सबैले राम्रो भन्ने वातावरण नबनाउने ? सबैले ‘सुहाना मौसम’ भन्न सक्ने बनाउन कसरी संभव छ ? 

    प्रकृतिले निर्धारण गरेको मौसम बदल्न सकिँदैन तर जनताको आर्थिक अवस्था बदल्न सकिन्छ । यो जाडोलाई सबैको साझा बनाउन सकिन्छ । यसका लागि देशका राजनीतकि दल, तीनै तहका सरकार र भेदभाव रहित समाज बनाउन सभ्रान्तबाट पनि योगदानको जरुरी छ । जाडोजस्तो प्रिय महिनालाई किन कसैका लागि सत्रुको रुपमा रहन दिने ? 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology