वेबटिभी खबर
सांकेतिक तस्बिर
काठमाडौं । कोभिड-१९ को नयाँ भेरियण्टसँगै आई परेको संकटका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सम्बन्धित सबैलाई त्रिभुवन विश्वविद्यालयले अनुरोध गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले बुधबार अपिल जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका हुन् ।
पठन-पाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत् सुचारु भईरहेका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न, रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न बास्कोटाको अपिल छ । सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि बास्कोटाको अपिल छ ।
अहिलेको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन बास्कोटाको आग्रह छ । ‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु’ उनले अपिलमा भनेका छन् ‘साथै महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij