वेबटिभी खबर
काठमाडौं । सभामुख अग्नि सापकोटा र संविधाविद् तथा कानूनविज्ञसँगको छलफल सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरस्थित संसद भवनको ह्लोत्से हलमा बिहीबार सभामुख सापकोटाले शुक्रबार मध्यरातदेखि विकसित राजनीतिक घटनाक्रम र सभामुखको भूमिकाका बारेमा विज्ञहरुसँग छलफल गरेका हुन् ।
छलफलमा संविधानविद् टीकाराम भट्टराईले सभामुखले प्रतिनिधिसभा बैकक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताएका छन् । छलफलमा भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भए पनि सिफारिस भने सभामुखले पनि गर्न सक्ने धारणा राखेका हुन् ।
‘सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्माननीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,’ भट्टराईले भने, ‘अधिवेशनको आह्वान गर्ने अधिकार भने केवल राष्ट्रपतिलाई मात्रै छ ।’
मन्त्रिपरिषदले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न नसक्ने उनको भनाइ छ । सर्वोच्चको फैसला बमोजिम संसद जीवितै भएको पनि उनले बताए । ‘अधिवेशनमात्रै नबसेको हो सर्वोच्चको फैसला बमोजिम प्रतिनिधिसभा जीवित छ,’ भट्टराईले भने ।
संविधानवाद, संसदीय व्यवस्था र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्नमा सभामुखको दायित्व अग्रणी हुने बताउँदै भट्टराईले जेठ १५ मा आउन लागेको बजेट संसदबाटै ल्याइनुपर्ने धारणा राखे । ‘प्रत्येक वर्ष जेठ १५ गते हरहालतमा बजेट प्रतिनिधिसभामा पेस गर्नुपर्छ भनिएकाले प्रतिनिधिसभा मर्दैन,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij