वेबटिभी खबर
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।
प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताएका हुन् ।
‘बिप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय र दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार छ । विप्रेषणबाट भित्रिएको रकम उत्पादन, निर्माण र रोजगारीका साथै नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौँ’, मन्त्री पौडेलले भने, ‘त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्न तयार छौँ ।’
गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पौडेलले भने, ‘गैरआवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ ।’
उनले सहज ढंगले नागरिकता प्राप्त गर्न सकिने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेमा विश्वास व्यक्त गरे । वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐनले गैरआवासीय नेपालीलाई विदेशी नागरिक सरह लिएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गैरआवासीय नेपालीले नेपालमा आउँदा प्रवेशाज्ञा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने जानकारी दिए।
‘नेपालको आर्थिक विकासमा प्रवासमा रहेका गैरआवासीय नेपालीहरूको ठूलो योगदान छ । आागमी दिनमा अझ प्रभावशाली हुँदैछ’, मन्त्री पौडेलले भने, ‘रेमिट्यान्स मात्रै नभइ वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रूपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेल्नुहुनेछ भन्नेमा विश्वास व्यक्त गर्दछु ।’
उनले नेपाल लगानीका निम्ति सुरक्षित स्थान भएको र प्रतिफल पनि दिने स्थान भएको भन्दै यो सन्देश संसारभरका लगानीकर्ताका माझ पुर्याइदिन आग्रह गरे ।
कार्यक्रमका सहभागीहरूले विप्रेषणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालको अर्थतन्त्र मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संशोधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij