वेबटिभी खबर
काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा सोमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण सोमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको हो ।
महाशाखाका अनुसार सोमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ ।
मंगलबार दिउँसोदेखि हिमपात र वर्षा हुने अनुमान पनि गरिएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना देखिएको छ भने दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल काठमाडौं उपत्यकाको मौसम भने सफा देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij