वेबटिभी खबर
वीरगञ्ज । मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा ३२ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा २१ अर्ब ५१ करोड राजस्व संकलन भएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले जानकारी दिए ।
कार्यालयको चालु आवमा ६७ अर्ब ४३ करोड राजस्व संकलन गर्ने लक्ष्य छ । उक्त भन्सार कार्यालयले आव २०७८/७९ मा लक्ष्यको ९४.९८ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९६.४० प्रतिशत राजस्व संकलन गरेको थियो ।
चालु आवमा लक्ष्यअनुसार राजस्व संकलन हुने सम्भावना कम रहेको न्यौपानेको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तु मदिराको आयातमा प्रतिबन्ध र तयारी वस्तु, बिस्कुट, चकलेटजस्ता वस्तुको आयात घट्दा राजस्व संकलन प्रभावित भएको छ ।
गत आवभन्दा चालु आवको राजस्व संकलन लक्ष्य बढी भएको र आयात घटेकाले राजस्व संकलन प्रभावित भएको भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए ।यसबाहेक कतिपय वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ गरिएकाले राजस्व संकलन घटेको उनको भनाइ छ ।
सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरेपनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij