Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भैँसीपालन गरेर सफल उद्यमी बन्दै महिला

भैँसीपालन गरेर सफल उद्यमी बन्दै महिला

  • 403
    SHARES
  • भैँसीपालन गरेर सफल उद्यमी बन्दै महिला

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ ।

    छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिन छिन् ।

    आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न भएका छन् । साथै उनले आफ्नो फार्ममा स्थानीय दुईजनालाई रोजगारी समेत दिएकी छिन् ।

    ‘वार्षिक सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ’, डांगीले भनिन् । बिहानको मिर्मिरे उज्यालोसँगै उनको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा भैंसीपालनको सुरुआत गरेकी थिइन् ।

    उनले भनिन्, ‘सुरुमा एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौं अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।’ तीमध्ये १० वटा दुहुना भैँसी छन् । उनका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैँले डेरी उद्योगबाट बिक्रीवितरण गर्छिन् ।

    कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताइन् ।

    ‘एक वर्षयता आफैँले तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य ९० र दहीको एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ’, उनले भनिन् ।

    शुक्रबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका-६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले यहीँबाट लैजाने गरेको बताइन् ।

    ‘यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ’, राधाले भनिन् । डाँगीले फार्ममा अहिलेसम्म ४० लाख लगानी गरिसकेकी छिन् भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ ।

    आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष सात लाख बचत गरेकी थिइन् । यसपटक डेरी पनि सञ्चालनमा रहेकाले बचत रकम बढ्न सक्ने उनको अनुमान छ ।

    घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ । ‘सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने कुनै निकायबाट पनि पाएको छैन’, डाँगीले भनिन् ।

    कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरु आउने गरेका छन् ।

    पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानैपर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रूपमा साबित हुने उनको बुझाइ छ ।

    राज्य नारामा मात्र सीमित नभई कृषि व्यावसायमा लाग्नेलाई व्यावहारिक रूपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसके कृषिमा आत्मनिर्भर हुनेको संख्या बढ्ने उनको धारणा छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उनको अनुभव छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij