वेबटिभी खबर
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी भएकी छिन् ।
शारीरिक समस्याका कारण सहजरूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । ‘अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिन, बैंकसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु’, महतोले भनिन् ।
चौमासिकरूपमा पाउँदै आएको भत्ता यसपाली भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यविन्दु नगरपालिका वडा नं-१, २, ३ र ४ का नागरिक पनि खुसी छन् । मध्यबिन्दु नगरपालिकाले बैंकसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक हजार पाँच सय लाभग्राही गाउँघै भत्ता दिइएको हो ।
बैंक पुग्न घण्टौँ समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्यबिन्दु नगरपालिका-१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए ।
‘बैंकमा आउन नसक्ने अपांगता भएका व्यक्ति, अशक्त, बिरामीलगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ’, उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij