वेबटिभी खबर
काठमाडौं । ‘नेपाली केटी’ एप बनाएर ठगी गर्ने ८ जनालाई ललितपुर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
ह्वाट्सएपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोबाइलमा रहेको बैंकिङ एपमा पहुँच पुर्याएर रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भएका अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका रविना चौधरी, बारा कोलबी नगरपालिका घर भएका सन्तोष कुवँर, पर्सा वीरगन्ज महानगरपालिका घर भएका राजु पटेल, साहिल परवेज र दिनेश राउत र शिवशंकर राउत रहेका छन् ।
ललितपुर सातदोबाटो बस्ने हरिप्रसाद ढकालको नामको एनआइसी एसिया बैंकमा रहेका मोबाइल बैंकिङ खाताबाट रकम चोरी भएको उजुरीपछि अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्तहरुले ह्वाट्सएपमा नेपाली गर्ल एपको लिङ्क पठाउने गरेका थिए । उक्त एप डाउनलोड गर्दा मोवाइलमा रहेको बैंकिङ एपमा पहुँच पुराएर रकम निकाल्ने गरिएको खप्रहरी उपरीक्षक शाहले बताए ।
उनीहरूको साथबाट बिभिन्न कम्पनीको ९ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मोबाइल एपबाट ठगिनेहरुको उजुरी आइरहेको र थप अनुसन्धान भइरहेको बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij