वेबटिभी खबर
काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ ।
टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए ।
निर्देशक पौडेललले फाइभजी प्रभावकारीरूपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे । जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरूपमा नै फरकरूपमा सञ्चालन हुने उनको भनाइ छ ।
कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ । यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पुर्याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ ।
वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ ।
फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रूपमा ई-सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।
डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरूपमा वृद्धि भएको छ ।
मुलुकका सार्वजनिक संस्थानमध्ये हालसम्म सबैभन्दा नाफा कमाउने र राज्यलाई बढी राजस्व तिर्ने नेपाल टेलिकमले अघिल्लो वर्ष सरकारलाई २६ अर्ब ४१ करोड राजस्व तिरेको छ । टेलिकमका प्रबन्ध निर्देशक पौडेलका अनुसार आव २०७७/७८ मा विभिन्न कर तथा गैरकर गरी कम्पनीले उक्त रकम राजस्व बुझाएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कूल आय ४४ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा आठ अर्ब ४७ करोड भएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ८० करोड राजस्व प्राप्त गरेको छ ।
टेलिकमको भ्वाइस सेवातर्फ २०७९ मंसिर अन्त्यसम्ममा ग्राहक आधार दुई करोड १३ लाख २५ हजारभन्दा बढी छ । जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजार र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी छन् ।
त्यसैगरी एफटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिएच डाटा सेवाका ग्राहक दुई लाख ११ हजार छन् । चालु आवको असोज महिनासम्म भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२.२४ प्रतिशत छ ।
इन्टरनेट डाटा सेवातर्फ २०७९ मंसिरसम्म कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवा प्रयोगकर्ता कूल दुई करोड ६ लाख १८ हजार छ सयभन्दा बढी पुगेका छन् ।
सोमध्ये जिएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिएच डाटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार छन् ।
मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किमी फाइबर बिछ्याउने कार्यसम्पन्न भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij