वेबटिभी खबर
धादिङ । धादिङको खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधीको अभाव भएको छ ।
दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधी स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको हो ।
झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी, र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधीसमेत नभएको सेवाग्राही र स्वस्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्य सेवाको मूल्यांकन र कार्ययोजनाको क्रममा ती स्वास्थ्य संस्थामा केही दिनका लागि मात्रै पुग्ने औषधी रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखले बताएका हुन् ।
‘वर्षमा एक पटक मात्रै औषधी आउने र बिरामीको संख्या बढी भएकाले औषधीको अभाव भएको हो’, झर्लाङ स्वास्थ्य चौकीका इन्चार्ज अनिश पाठकले भने ।
उनका अनुसार बिरामीलाई निःशुल्क वितरण गरिने औषधीमध्ये सिटामोल सकिन लागेकाले एक/दुई चक्की दिने गरेको तथा अन्य नियमित वितरण गरिने औषधी माघमै सकिएको छ ।
स्वास्थ्यचौकीमा देखिएको औषधीको अभावका विषयमा आफूले पालिकामा कुरा उठाउने खनियाबास गाउँपालिका-४ का वडा अध्यक्ष लीलामान तामाङको भनाइ छ ।
खनियाबास गाउँपालिकाको स्वास्थ्य संस्थामा देखिएको औषधी अभाव तथा व्यवस्थापनका पक्षमा भएका कमजोरीका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरी समस्या समाधान गर्ने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।
डब्लुएचएचको सहयोगमा लिबर्डले स्वास्थ्य संस्था कार्ययोजना बनाउन सहयोग गरेको थियो । सोही अवसरमा स्वास्थ्य संस्थाको स्वमूल्यांकन गरी नियमित औषधी तथा अत्यावश्यक सामग्रीको व्यवस्था स्थानीय सरकारले गर्नुपर्नेमा वडाध्यक्षहरूले जोड दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij