वेबटिभी खबर
मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो ।
सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यका साथ उर्लाबारी-८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताए ।
अध्यक्ष पौडेलले भने, ‘उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौँ, आगामी आर्थिक वर्षमा वडा नं-२ मा ट्यांकी निर्माण गर्छौं ।’
२०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं-१, ३, ४, ५, ६ र ७ का साथै दमक-१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ ।
हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ । योजना विस्तारपछि वडा नं-८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् । २०५२ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी योजना अघि बढाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij