वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गरेका छन् ।
अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उनीहरूका बीचमा नेपाल-अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अर्थ मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइएको स्मरण गरे ।
नेपालले १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको अर्थ मन्त्रीले बताए ।
अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको तथा विश्वको साझा समस्याको रूपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेको बारे पनि प्रशासक पावरलाई जानकारी दिए ।
नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गरेका थिए ।
नेपालले २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ ।
सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार-सरकार (जी-टु-जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij