Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

स्वास्थ्य चौकीले चालक राख्न नसकेपछि निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य

स्वास्थ्य चौकीले चालक राख्न नसकेपछि निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य

  • 263
    SHARES
  • स्वास्थ्य चौकीले चालक राख्न नसकेपछि निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य

    गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले  ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका छन् ।

    गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उनले समाजसेवीको रूपमा बिना तलब एम्बुलेन्स चलाउन थालेका हुन् ।

    लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहेका छन् । चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उनले जानकारी दिए ।

    सोही सेवाभावका कारण गत स्थनीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाएका थिए । निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरि एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिएका छन् ।

    पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्नसमेत कठिनाइ भइरहेको छ । त्यही समस्याबाट ग्रसित मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाएका छन् ।

    वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उनले बताए । उनले भने, ‘समाजसेवा गर्ने हो, माध्यम जस्तो पनि हुनसक्छ । स्वास्थ्य संवेदनशील कुरा हो । नचलेको एम्बुलेन्स निःशुल्क चलाएर सहयोग गरेको छु ।’

    उनले वडासदस्यको हैसियतमा वडाबाट पाउने सेवासुविधा लिएर काम गरिरहेका छन् । आफूले पाँच वर्षसम्म वडासदस्यको भूमिकासँगै निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij