वेबटिभी खबर
नवलपरासी । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ ।
मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मंसिर १३ गतेदेखि सो सेवा निःशुल्क सुरु गरेको थियो । अस्पतालमा हाल चार डायलायसिस उपकरण रहेका छन् ।
तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.जितेन्द्र कँडेलले बताए ।
डा.कँडेलका अनुसार मिर्गौला रोगीले हप्तामा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसीस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन सकेको छैनन् ।
सेवा सूचीकरणका लागि पाँच डायलायसिस उपकरण आवश्यक पर्छ । तर थप एक उपकरण खरिदका लागि स्रोत सुनिश्चितता नहुँदा अस्पताल सूचीकरणसमेत हुन नसक्ने अवस्थामा रहेको डा.कँडेलले जानकारी दिए ।
हालको अवस्थामा सेवालाई दुई सिफ्टमा सञ्चालन गरेर १८ जनासम्मको डायलायसिस गर्न सकिने भए पनि जनशक्ति र खर्चको व्यवस्थापन नहुँदा नौ जनाभन्दा धेरैलाई सेवा दिन नसकिएको डा.कँडेलको भनाइ छ ।
अस्पतालमा डायलायसिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । तर उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ ।
यसका कारण बिरामी सेवा लिन चितवन र काठमाडौं पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ । मेडिकल सुपरिटेण्डेन्ट डा.कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ ।
पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहसँग सहयोग मागेको र कावासोती नगरपालिकाले १५ लाख विनियोजन गरेको छ भने मध्यविन्दुमा पनि केही रकम छुट्टिएको जानकारी आएको मेडिकल सुपरिटेण्डेन्ट कँडेलले बताए ।
उनका अनुसार जिल्लामा एक सय जनाको आसपास डायलसिस गर्नुपर्ने बिरामी रहेका छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीको लागि समेत सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उनले माग गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij