Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागु, ७० अंक ल्याए पास

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागु, ७० अंक ल्याए पास

  • 482
    SHARES
  • सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागु, ७० अंक ल्याए पास

    काठमाडौं । बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागु भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरि ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।

    यही फागुन १ गतेबाटै लागु गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार १०० तोकेको छ ।

    यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार)को अंकभार २० तोकिएको छ ।

    दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक पाँच अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायल भने फेल भइँदैन ।

    यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएकाे छ ।

    यसैगरी साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यू-टर्नको अंकभार १० तोकिएको छ । टर्नीङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

    ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अंकभार घटाइनेछ ।

    एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (र्याम)को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।

    यस्तै कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कूल अंकभार १०० तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट)को अंकभार २० तोकिएको छ ।

    दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक पाँच अंकका दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल नहुने व्यवस्था गरिएकाे छ । दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ ।

    निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यूटर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ ।

    अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपाङ्ग्रे सवारी चालकलाई र्याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ ।

    तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरि ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ ।

    ‘ग्यारेज पार्किङ’को अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij