वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल भ्रमणमा रहेको बेला गरेको भेटवार्ताबारे प्रश्न उठाएका छन् । उनले नेताहरूलाई भारतीय कर्मचारीकाे अगाडि किन लम्पसार परेकाे ? भनेकाे प्रश्नसमेत गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको बताए ।
राष्ट्रप्रमुख, सरकार प्रमुख, बहालवाला मन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले भारतीय विदेश सचिव क्वात्रालाई भेटबारे बताउँदै सांसद केसीले भारत भ्रमणमा गएका बेला नेपालका पुर्वप्रधानमन्त्री तथा जिम्मेवार मन्त्रीले भेट नपाएकाे कुरा उल्लेख गरे ।
भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहले भेट दिनु अशोभनीय भएकाे उनकाे भनाइ छ ।
उनले भने, ‘ हाम्रा पूर्वप्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरू भारत जाँदा त्यहाका उच्च राजनीतिक दलका नेताहरूले भेट नदिएर निराश भएर फकिर्नुपरेको देखेको छु ।छिमेकका कर्मचारी आउँदा राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू, आफूलाई असाध्य जान्ने सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन् ? यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरुलाई लाज लाग्दैन ?’
नेताहरुमा शक्ति राष्ट्रको मान्छेको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको केसीले बताए । अध्यक्ष केसीले नेपालको राष्ट्रपति चुनावलाई लक्षित गरि विदेशीहरुको भ्रमण भइरहेको बताए ।
पहिले शक्ति राष्ट्रहरूको हस्तक्षेप अप्रत्यक्ष रूपले हुने भए पनि अहिले त प्रत्यक्ष नै देखिएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij