Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

  • 347
    SHARES
  • गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

    गुल्मी । गुल्मीमा हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ ।

    हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो ।

    जिल्लाको इस्मा गाउँपालिका-२ हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटक-पटक पाल्पा पुगेको बताउँछिन् । छोराको उपचारका लागि आएकी लक्ष्मी गुल्मीबाटै उपचार भएपछि खुसी छिन् ।

    ‘एकदमै खुसी लागको छ, हाडजोर्नी डाक्टर यही हुनुहुन्छ’, लक्ष्मीले भनिन्, ‘आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो ।’ रेसुङ्गा नगरपालिका-१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो ।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ बाट उपचारका लागि आएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउँछन् । पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि आफुहरूलाई निकै सहज भएको उनले जानकारी दिए ।

    ‘अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो’, पाण्डेले भने, ‘धेरै सहज भयो, समयको पनि बचत भयो ।’ उनीहरू मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् ।

    प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर प्रदीप शिवाकोटीले बताए । ‘नगरपालिकाले प्रोत्साहन गरेपछि जनताले सेवा पाइरहेका छन्’, डाक्टर शिवाकोटीले भने, ‘हाडजोर्नीको समस्याको लागि अब बाहिर जानु पर्दैन् ।’

    थप उपकरणको आवश्यक परेको उनको भनाइ छ । गुल्मी अस्पतालमा दरबन्दी भएपनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या रहेको थियो । जसका कारण हाडजोर्नीको सेवा नहुँदा बिरामीलाई सास्ती भएपछि रेसुङ्गा नगरपालिकाले सहजीकरण गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

    सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगर प्रमुख पन्थीको भनाइ छ ।

    ‘हाडजोर्नीको सामान्य समस्या हुँदा पनि पाल्पा जानुपर्ने समस्या थियो’, प्रमुख पन्थीले भने, ‘अहिले गुल्मीवासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउनुभएको छ ।’ थप विशेषज्ञ सेवा पनि उपलब्ध गराउन सहयोग गर्ने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij