Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो : सभापति देउवा

प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो : सभापति देउवा

  • 257
    SHARES
  • प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन।

    उनले फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन। सभापति देउवाले विसं २००७  कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताएका छन।

    'राजनीतिक परिवर्तनमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो,' उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन।

    समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको सभापति देउवाले बताएका छन।

    उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन।

    सभापति देउवाले देशमा लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ सपुतहरूले आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै यो ऐतिहासिक दिनमा सम्पूर्ण सहिदहरूको त्याग र बलिदानको स्मरणका साथ उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij