Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बेलढुंगा 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बेलढुंगा 

  • 277
    SHARES
  • आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बेलढुंगा 

    बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका-३ ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लको शिरमा छ बेलढुंगा ।

    दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुंगाका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुंगा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ ।

    आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुंगा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो ।

    हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुंगामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन ।

    बेलढुंगा बाग्लुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ ।

    पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको संख्या अझ बढ्दो छ । बेलढुंगा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ ।

    यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बाग्लुङ र म्याग्दीका अधिकांश भू-भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुंगा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताए ।

    यस वर्ष एक दिन पनि बेलढुंगा रित्तो नभएको श्रीस बताउँछन् । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ ।

    पूर्वाधार निर्माण र प्रचार-प्रसारपछि बेलढुंगामा बाह्रै महिना पर्यटक आउन थालेका छन् । ‘पाँच/छ वर्ष अगाडिसम्म बेलढुंगा निकै सुनसान थियो, स्थानीयले यहाँ घाँस, दाउरा गर्ने गर्थे, म्याग्दी र बाग्लुङको सिमाना भएको हुँदा अलि-अलि मान्छे त आउँथे तर अहिलेको जस्तो थिएन’, सचिव श्रीसले भने, ‘बेलढुंगामा पर्यटक आउँदा होमस्टे पनि राम्रो चलेको छ, यहाँ खानेपानी, शौचालय व्यवस्थापन हुनसकेको छैन, त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो ।’

    पछिल्लो समय बिदाको दिन विद्यार्थी, विभिन्न संघ संस्था गाडी लिएर घुम्न तथा वनभोज खान आउनेको संख्या बढेको छ । म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ ।

    यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुंगा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुंगामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ ।

    सामाजिक सञ्जालमा यहाँका तस्वीर-भिडियो निकै भइरल भएको हुँदा आफू पनि घुम्न आएको बाग्लुङको गलकोटका सुजन खत्रीले बताए ।

    सुजनले भने, ‘यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रैछ, हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजंगल, पशुपक्षी सबै देख्न पाइने यस्तो ठाउँ सायद दुर्लभ नै होलान्, हामीहरू सात जनाको टिम आएको मज्जाले रमाइलो भयो ।’

    गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको दुई लाख ५९ हजारबाट बेलढुंगालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुंगा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ ।

    बाग्लुङ नगरपालिका-६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकलल्याण्डसमेत बनाइएको छ । काठेखोला गाउँपालिकाका प्रवक्त टीकासंगम विकले बेलढुंगा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेको जनाउँदै यसको प्रवर्द्धनका लागि गाउँपालिकाले योजना बनाएर लागेको बताए ।

    उनले अघिल्लो वर्षहरूमा यहाँ केही पूर्वाधार निर्माणका काम गरेको चर्चा गर्दै शौचालय, खानेपानी र यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउने जानकारी दिए ।

    प्रवक्ता विकले भने, ‘बेलढुंगा काठेखोलाको शिर हो, गौरव हो, यस ठाउँमा अझै थुप्रै संरचना बनाउन बाँकी छ, पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ, अब संचरना बनाउने, प्रचार-प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्छौँ, पर्यटनमार्फत यहाँ समृद्ध हासिल गर्ने लक्ष्य छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij