Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एकवर्षदेखि ओढारको बास

एकवर्षदेखि ओढारको बास

  • 235
    SHARES
  • एकवर्षदेखि ओढारको बास

    म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।

    बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेलाँ गरेपछि ओढारमा बस्नुपरेको उनले बताए ।

    ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेलाँ गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।’

    राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ ।

    उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्छन् ।

    ‘राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओढारमा बस्न थालेको एक वर्षजति भयो’,कुरिलाखर्कका सुरेस ढुङ्गानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।’

    ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन् । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ ।

    उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताए ।

    ‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो’, उनले भने, ‘अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।’

  • सम्बन्धित विषय:

  • # बेनी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij