वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति निर्वाचनमा भाग लिने/नलिने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् ।
उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार दिउँसो साढे १२ बजे बस्ने तय भएको हो । राप्रपाले आफ्नो उम्मेदवार राष्ट्रपतिमा नउठाउने तर कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा सोही दिन छलफल हुने उनले बताए ।
राष्ट्रपतिको निर्वाचनमा एमालेले उठाएको उम्मेदवारलाई समर्थन गर्ने कि कांग्रेसले उठाएको उम्मेदवारलाई भन्ने निर्क्यौल पनि कार्यसम्पादन समितिले नै लगाउने राप्रपाका नेताहरूले बताएका छन् ।
राष्ट्रपतिको निर्वाचन २५ गते हुँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij