वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) फुटको संघारमा पुगे पनि अध्यक्ष महन्थ ठाकुर पक्षले भने सरकारमा जाने अडान राख्दै आएको छ ।प्रधानमन्त्री ओलीसँग सोमबार बिहान १० बजेदेखि ठाकुर पक्षीय नेताहरूबीच जारी छलफल केहीबेरअघि सकिएको छ ।
सो छलफलमा महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । ८ मन्त्री र २ राज्यमन्त्री पाए आफूहरू वर्तमान सरकारमा सहभागी हुने सहमति भएको छ ।
‘यो सरकारले हाम्रो पार्टीका केही मागहरू सम्बोधन गरेकाले हामी सरकारमा सहभागी हुन्छौं । ८ मन्त्री र २ राज्यमन्त्री लिनेमा सहमति जुटेको छ,’ बैठकमा सहभागी जसपाका एक नेताले भने, ‘हाम्रो पार्टीमा पनि विवाद छ, त्यसलाई लिएर छलफल पछि भोलि-पर्सीमा टुंगो दिन्छौं भनेका छौं ।’
मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागी हुनेबारे निर्णय लिइने ती नेताले बताए ।
बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij