वेबटिभी खबर
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका छन् ।
प्रदेश नं १ आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजित भई कुल १९ करोड १४ लाख रूपैयाँमा निर्माण भएकाे ७५ कोठाकाे पाँच तले प्रहरी कार्यालय भवनको बिहीबार उनले उद्घाटन गरेका हुन् ।
शिलालेख अनावरण गरि विधिवत रूपमा उद्घाटन गर्दै उनले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाकाे कार्यमा प्रत्यक्ष असरपर्ने बताए । उनले सुविधासम्पत्र भवन प्राप्त भएसँगै नागरिक सेवामा लाग्न प्रहरीलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरूमा थप उत्साह बढेको धारणा व्यक्त गरेका छन् ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले भौतिक सुविधाले प्रहरी सेवामा अनुकूल वातावरण सिर्जना गर्ने बताए ।
सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रले सम्मान गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij