वेबटिभी खबर
नयाँ दिल्ली । भारतम कोरोना भाइरस महामारीको दोस्रो लहरबाट एक महिनामा ८८ लाख ८२ हजार मानिस संक्रमित भएका छन् । अहिलेसम्म देशभर संक्रमित भएका दुई करोड ८० लाख मध्ये मे महिनामा मात्र ३१ दशमलव ६७ प्रतिशत संक्रमित भएका हुन् ।
यसलाई महामारीबाट सबैभन्दा बढी प्रभावित महिना भनिएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार मे महिनामात्र एक लाख १७ हजार दुई सय ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
महामारी सुरु भएदेखि हालसम्म भारतमा तीन लाख २९ हजार एक सयको ज्यान गएको छ । मे महिनामा मात्र ज्यान गुमाउनको संख्या कुल संख्याको ३५ प्रतिशत छ । मे ७ मा अहिलेसम्मकै सर्वाधिक संख्यामा चार लाख १४ हजार १ सय ८८ जना संक्रमित भएका थिए । यस्तै, १९ मेमा मृत्यु हुनेको सबैभन्दा उच्च संख्या चार हजार पाँच सय २९ थियो ।
मे १७ पछि दैनिक संक्रमितको संख्या तीन लाखभन्दा थोरै र चार दिनयता दुई लाखभन्दा कम संक्रमित भएका छन् । मे १० सक्रिय संक्रमित ३७ लाख ४५ हजार दुई सय ३७ सर्वाधिक थियो । अहिले यो संख्या घटेर २० लाखसम्म आइपुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij