वेबटिभी खबर
खोटाङ । खोटाङको सोल्मा स्पोर्टस् क्लबले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा च्याम्पियन बनेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित खेल मैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो ।
शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल र केपिलासगढी गाउँपालिका-४ बाक्सिला सेमीफाइनलिष्ट बनेका छन ।
प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमलाई क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रूपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । फुटबलको व्यवसायीक विकासमा टेवा पुर्याउने उद्धेश्यकासाथ वडास्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।
जिल्लाका विभिन्न स्थानीय तहका १८ टिम सहभागी प्रतियोगीता गत फागुन ६ गते प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका थिए । स्थानीयको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेल मैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ ।
खेल मैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरूद्ध भएकोमा खेल मैदानको काम सकिएपछि पुनः फुटबल प्रतियोगीतालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले जानकारी दिए ।
वडास्तरीय फुटबल प्रतियोगीता समापन अवसरमा सञ्चारकर्मी मनोज आचार्यलाई पाँच हजार ५५५ रूपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
सोही कार्यक्रममा रितोरियो कराते खेलाडी विद्याकला राई नगद एक लाखसहित सम्मानित भएकी छन । खेलकुदको माध्यमबाट जिल्ला र परिवारको नाम फैलाएको भन्दै मावली विक्रम परिवारले विद्याकलालाई नगद सहित सम्मान गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij